Sunday, March 27, 2016

                       

  जुन प्रदेशका लागि नागरिक लासमा बदलिए

खेमराज वली 
सुर्खेत १३ चैत । 
प्रदेश नं. ६ को एउटा इतिहास बनेको छ । यो प्रदेश हालसम्मको कान्छो प्रदेश हो । शीर्ष नेताहरुले गत साउनमा सिमाङकनसहित ६ वटा प्रदेशमा सहमति गरेका थिए । साविकको मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्लाहरु मिलाएर एउटा प्रदेश बनाईएको थियो । जुन सहमतिमा मध्यपश्चिमबासीले सहमति जनाउन सकेनन् । उक्त सहमति अस्वीकार गरेका आम नागरिकहरुले आन्दोलन गरे । मपको सदरमुकाम सुर्खेतबाट सुरु भएको संघर्षले ठुलो रुप लियो । मप क्षेत्रभरी आन्दोलन फैलियो । मध्यपश्चिमबासीले राजधानी काठमाडौंमै पनि सिमाङकनको असहमतिमा खबरदारी गरे । उनीहरुको मुख्य माग मपको पहिचान थियो । मध्यपश्चिमका जिल्लाहरुको छुट्टै प्रदेश हुनुपर्दछ भन्ने थियो ।

शीर्ष दलका नेताहरुको सहमतिले बल्झाएको मपको आन्दोलनले ठूलो रुप लिदा केही दिनको अवस्था त्रास्दीपूर्ण रह्यो, कर्फ्यू लाग्यो, विभिन्न ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरियो । आन्दोलन सुरु गरिएको तेस्रो दिनमै गत साउन २५ गते सुर्खेत रक्ताम्य भयो । तीन जना सर्वसाधारण लासमा बदलिए । जुम्लामा पनि नागरिक र प्रहरीबीच भिडन्त भयो । एक जनाको मृत्यु भयो । यसरी नै आन्दोलनले करिब एक हप्ता निरन्तरता पायो । अन्ततः सर्वसाधारणहरु मृत्युसंग पनि डराउन छोडेपछि शीर्ष नेताहरुले अर्काे सहमति गर्न बाध्य भए । 

नेपाली काँग्रेस, नकेपा (एमाले र एमाओवादीका शीर्ष नेताहरुले भेरीअञ्चलका सुर्खेत, दैलेख जाजरकोट, कर्णाली अञ्चलका हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र मुगु, राप्ती अञ्चलको सल्यान जिल्लाको पुरै र रुकुम जिल्लाको केही भाग मिलाएर एउटा छुट्टै प्रदेश बनाउने सहमति गरे । प्रदेशको सीमाङकनको असहमतिमा पहिलो पटक सुर्खेतका नागरिकहरुले मृत्युबरण गरे । अन्ततः एउटा नयाँ प्रदेश उपहार दिईयो । जुन प्रदेश लाससंग साटिएको अनुभूति यस प्रदेशका नागरिकहरुले गरेका छन् । यद्यपी यो प्रदेशको को सीमाङकन अझै बसहमा नै छ ।  

समृद्धिको सम्भावनाको बहस 

‘नेपालको संविधान २०७२’ जारी भईसकेको र देश संघीय संरचनामा जाने निश्चित भएपछि अहिले प्रदेशको समृद्धिका सम्भावनाका बारेमा पनि बहस सुरु भएको छ । पुरानो अवस्थालाई हेरेर प्रदेशहरुको भविष्यको अनुमान गर्न थालिएको छ । प्रदेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरोकारवालाहरुले सम्भावना, चुनौती र नागरिक उत्तरदायित्व तथा कर्तव्यको बहस सुरु गरेका छन् । यद्यपी कुनै राजनीतिक दलहरु प्रादेशिक संरचनाको अभ्यासमा अलि अगाडि नै देखिएका छन् भने । केही राजनीतिक दलहरु अलि पछाडि नै छ । विशेष गरी एमाओवादीले आफ्नो पार्टी कमिटी र भातृ संगठनका कमिटीहरुलाई प्रादेशिक संरचनामा बदलिसकेको छ  । नेकपा (एमाले) ले पनि अभ्यास थालेको छ । भने काँग्रेसले पनि १३ राष्ट्रिय महाधिबेशनमा प्रदेश सदस्य निर्वाचित गरिसकेको छ । प्रतिनिधीहरु भने प्रदेशबाट काँग्रेसले चयन गरेन ।

दल र सरोकारवालाहरुले आफुलाई पनि प्रादेशिक संरचनामा बदल्दै आफ्नो प्रदेशको समृद्धिका सम्भावनाहरुको खोजी गर्न थालेका छन् । विगतको अवस्थाको विश्लेषण गर्दा तुलनात्मक रुपमा सबै सात प्रदेश मध्ये प्रदेश नं. ६ कम्जोर देखिन्छ । विकासका हरेक सूचकाङकहरु यो प्रदेशमा कम्जोर छन् । भौगोलिक विकटता, न्यून साक्षरता दर, दयनीय स्वास्थ्य अवस्था, बेरोजगारी संख्या बढी, युवा विदेश पलायन, उद्योग, कलकारखान शून्य जस्तै छ । प्रतिव्यक्ति आय निकै न्युन छ । खाद्यान्न अभावसमेत यस प्रदेशका नागरिकहरुले झेल्नुपर्ने अवस्था कायमै छ । यस्तो अवस्थालाई आधार बनाउँदा प्रदेश नं. ६ को समृद्धिको परिकल्पना व्यर्थको सपना हुने विश्लेषण पनि हुन्छ । तर प्रदेशको निर्वाचन भई पूर्णरुपमा कायान्वयन भएपछि प्रदेशको समृद्धिका आधारहरु प्रसस्त रहेका छन् । 

पर्यटन, जलविद्युत र जडिबुटीको सम्भावना 

यो प्रदेश कर्णाली र भेरी नदिले घेरिएको प्रदेश हो । कर्णाली नदिबाट सहजै सस्तो लगानीमा विजुली निकाल्न सकिन्छ । अहिले पनि अपर कर्णाली परियोजना लगायत अन्य परियोजनाहरु संचालनमा छन । भेरीको पानीले यस प्रदेशका खाद्यान्न उत्पादन हुने क्षेत्रहरुमा सिचाई गर्न सकिन्छ । य। ो प्रदेश प्राकृतिक सौन्दर्यता बोकेको प्रदेश हो । यहाँ डाँडाकाडा र हिमालहरु छन् । कयौं पर्यटकीय स्थलहरु छन् । झरतान, मठ मन्दिर, पुराना दरबारहरु, भग्नाबशेषहरु छन् । सुर्खेतको पश्चिममा चुन ढुङ्गाको खानी छ । दैैलेखमा ग्याँसको खानी भएको अनुमान गरिएको छ । यस प्रदेशका सबै पहाडि र हिमाली जिल्लाहरु फलफूल खेतीका लागि प्रख्यात जिल्लाहरु हुन् । हिमाली क्षेत्र जडिबुटिको खानी नै हो । कान्जिरोवा हिमाल साविकको कर्णालीको सौन्दर्य हो । यस्तो थुप्रै सम्भावना छन यो प्रदेशमा । पर्यटन व्यवसाय, जल यात्रा, जलविद्युत, पशुपालन, व्यवसायिक कृषि, जडिबुटि प्रशोधन यहाँका मुख्य सम्भावना हुन । हिजोलाई विश्लेषण गरेर भन्दा पछि स्रोतसाधनहरुको आधारमा विश्लेषण गर्दा यो प्रदेश देशभरका प्रदेशहरु मध्ये सबैभन्दा समृद्ध प्रदेश बन्न सक्ने आधारहरु छन् । 

केन्द्रीय नेताको नजरमा प्रदेश नं. ६ को सम्भावना 

प्राकृतिक स्रोतसाधानहरुले भरिपूर्ण यो प्रदेश समृद्धिका आधारहरु थुप्रै भएकोले समुन्नत प्रदेश बन्ने पूर्व गृह मन्त्रीपूर्णबहादुर खड्काको दावी छ । संविधान जारी भएपछि पनि केही समस्या देखिएता पनि ती सबै समस्याका समाधान गर्दै अगाडि जानेहो भने सबै प्रदेश र देशलाई नै समृद्ध बनाउन सकिने खड्काको भनाई छ  । भौगोलिक दृष्ट्रिकोणका आधारमा प्रदेश नं. ६ लाई कम्जोर सम्झिन नहुने भन्दै खड्काले प्रदेशको निर्वाचन भईसकेपछि प्रदेशको समृद्धिको बाटा खुल्ने बताए । धान फल्ने प्रदेशलाई मात्रै समृद्ध बन्न भन्न नमिल्ने भन्दै उनले स्रोतसाधनको प्रयोगका आधारमा प्रदेश नं. ६ सफल हुने बताए । ‘‘धान फल्ने ठाउँमा मात्रै समृद्धि हँदैन, धान नफल्ने ठाउँमा सुन पनि फल्न सक्छ,–‘यो प्रदेशमा प्राकृति स्रोत छन्, प्रदेशको चुनाव होला, त्यसपछि समृद्धिको बाटो खुल्छ ।’’ 

नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका खड्काले विकास र समृद्धिका लागि कुनै खास व्यक्ति र दलले गरेर नहुँने भन्दै विवादरहित रुपमा सबै एकमत हुनुपर्ने बताए । समृद्धिका लागि राजनीतिक प्रतिबद्धता, संकल्प र दीर्घकालिन योजना आवश्यक हुने भन्दै उनले प्रदेशको समृद्धिका लागि योजना बनाएर बढ्नुपर्ने बताए । विशेष गरी पर्यटन, जडिबुटि र जलविद्युत यो क्षेत्रको गतिलो सम्भावनाका रुपमा रहेको भन्दै खड्काले दीर्घकालिन योजना बनाएर काम गरे यो प्रदेश समृद्ध बन्ने बताए । यसका लागि अहिले पनि पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण र विकासको काम अघी बढाउनुपर्ने उनको भनाई छ । 

प्रदेश नं. ६ छिमेकि मुलुक भारतसंग जोडिएको छैन । यो प्रदेशको समृद्धिको लागि तराईका बाँके र बर्दिया जिल्लाहरुलाई पनि मिसाउनुपर्ने आवाज पनि उठेकै छ । यद्यपी यो प्रदेशको समृद्धिका लागि बाँके र बर्दियाको अभाव नहुन सक्छ । त्यसका लागि अहिलेका दश जिल्लामा उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्दछ । यती मात्रै होईन दीर्घकालका लागि यो प्रदेशले चिनसंग पनि व्यापार गर्न सक्दछ । यो प्रदेशको हुम्ला जिल्लामा रहेका हिल्सा नाकाबाट चिनसंग व्यापार गर्न सकिन्छ । चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा वली र चिनिया प्रधानमन्त्री बिच भएको सम्झौतामा पनि हिल्सा नाकामा चिनले पुल निर्माण गर्ने उल्लेख गरिएको छ । यो सम्झौताले प्रदेश नं. ६ को समृद्धिका निम्ति दीर्घकालिन रुपमा फाईदा हुने देखिन्छ ।

यो प्रदेशका लागि यस क्षेत्रका नागरिकहरुले बलिदानीसमेत दिएकोले समृद्धिका लागि पनि एक हुनेमा शंका देखिदैन । नेकपा (एमाले) का पोलिट व्यूरो सदस्य यामलाल कंडेलले यो प्रदेशको अहिलेसम्मको अवथा नकरात्मक भएपनि भविष्य सफल हुने बताए । जलस्रोत, जैविक खानी र पर्यटनको मात्रै विकास गर्न सकेको खण्डमा यो प्रदेश नं. १ प्रदेश बन्ने भन्दै कंडेलले विकासका मुद्दामा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए । धेरै सम्भावना रहेको भन्दै उनले कार्यान्वयनमा आउने चुनौतीहरुलाई सही रुपमा व्यवस्थापन गरी प्रकृतिले दिएका स्रोतसाधनहरुको उपयोग गर्नुपर्ने बताए । ‘‘देश संघीयतामा गएको छ, प्रदेशहरु निर्माण भएका छन्,’ उनले भने–‘प्रदेश नं. ६ को समृद्धिको सम्भावना धेरै छ, हिजोका शासकहरुले समृद्ध बनाएनन्, अब प्राकृति स्रोत साधनको प्रयोगले सम्पन्न प्रदेश हाम्रै पालामा हुन्छ ।’’

प्रादेशिक संरचना कार्यान्वयनमा अलि अगाडि देखिएको एमाओवादीले प्रदेश नं. ६ को लागि समृद्ध योजना नै अगाडि सारेको छ । यसमा पनि यस क्षेत्रको जडिबुटि, नदिनाला र पर्यटन व्यवसायलाई नै प्रमखताका साथ लिईएको छ । एमाओवादीका नेता तथा यो प्रदेशका इन्चार्ज जनार्दन शर्माले सम्बृद्धिको सम्भावना भएको सुनको डल्लो भएको भन्दै यो प्रदेश लाई सुन्दर बनाउनका लागि कुशल कालिगढको आवश्यक्ता भएको बताए । ‘‘यो प्रदेश सुनको डल्लो हो,’ उनले भने–‘समृद्ध र सुन्दर बनाउन कुशल कालिगढ आवश्यक छ ।’’
उनले पार्टीले पनि हाईड्रोपावर,पर्यटनसंगै जडिबुटिको सम्भावना भएको निष्कर्ष निकालेको भन्दै योसंगै कृषीलाई पनि सम्भावनाको स्रोतका रुपमा लिन सकिने बताए । उनले प्रदेशको समृद्धिका लागि जनशक्ति विकास र शिक्षाका क्षेत्रमा पनि सबै श्रोतको सही परिचालन र ती श्रोतहरुको स्वामित्व जनताको स्वामित्वमा ल्याउनुपर्ने बताए । समृद्धिका लागि प्रत्येक जिल्लालाई जिल्ला विशेष उत्पादन या आर्थिक परिचालन गर्ने योजना बनाएर पार्टी लाग्ने बताए ।

यस क्षेत्रबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरुले पनि यहाँका सम्भावनाको खोजी गर्दै प्रदेशको समृद्धिको लागि लाग्ने प्रतिबद्धता जनाएका छन् । राजनीतिक रुपमा आएका यी प्रतिबद्धता र सरोकारवालाहरुसंग आम नागरिकहरु समृद्धिका लागि कर्तव्यनिष्ठ र उत्तरदायि भएमा समृद्धिका लागि धेर समय पर्खिनुपर्ने छैन । 

सबैभन्दा समृद्ध प्रदेश बन्न सक्छ : पूर्व गृहमन्त्री खड्का 
पत्रिकाको दशौं वार्षिक उत्सवको शुभकामना छ । भर्खर संविधान जारी भएको छ । प्रदेशहरु निर्माण भएका छन् । केही विवादहरु कायमै छन् । यसका लागि संघीय आयोग पनि बनेको छ । अरु कुरा पछि मिल्नेछन । विकास र समृद्धिको सम्भावना नहुने भन्ने छैन । धान फल्ने ठाउँमा मात्रै समृद्धि हुन्छ भन्ने होइन । धान नफल्ने ठाउँमा सुन फल्छ । मधेसमा धान फल्छ भने यो प्रदेशमा सुन फल्न सक्छ । जडिबुटि, जलस्रोत यही प्रदेशमा छ । यसको बजारिकरण गरेर समृद्धि बनाउन सकिन्छ ।  हाइड्रोपावर निर्माण गर्न सकिने यति ठुलो सम्भावना छ । समृद्धिका लागि राजनीति गर्ने हामी राजनीतिकर्मीहरुको र दलहरुको भूमिका महत्वपूर्ण छ । प्रतिबद्धता गरेर मात्रै हुदैन । कार्यन्यन गर्न सक्नुपर्दछ । अहिले प्रदेशको सिमाङकन मात्रै गरिउको छ । प्रदेशको निर्वाचन होला । त्यसपछि समृद्धिको बाटो खुल्छ । योजनाहरु बनाउने त्यसपछि नै हो । प्रदेशलाई समृद्ध बनाउनका लागि दीर्घकालिन योजनाको आवश्कयकता हुन्छ । एक्लै कसैले केही गर्ने होईन समृद्धिका लागि सबै उक हुनुपर्दछ ।
व्यक्तिगत रुपमा म त यो प्रदेश विशाल हुनुपर्दछ भन्ने पक्षमा थिए । समृद्धिका लागि मध्यसुदुरपश्चिमका जिल्ला एक हुनुपर्ने थियो । पहिले पनि संगै थिए । प्रदेश विशाल हुने थियो । सबै प्रकारका सम्भावना थिए । समृद्धि टाढा थिएन । यसो भएमा तराईमा थारुलाई स्वायत्त, कर्णाली स्वायत्त र मगरात स्वायत्त दिन सकिने थियो । केही विवाद अहिले पनि छ । अहिले सीमाङकन भईसकेको छ । यो यति मै सिमित छ । यो विवादित विषय भएपनि यो प्रदेशको उचित विकासको सम्भावना धेरै छ । यो देशकै सबैभन्दा समृद्ध प्रदेश हुन्छ । अहिलेदेखि नै पहल पनि भईरहेको छ । यो प्रदेशमा औद्योगिक क्षेत्र बन्ने, सहर बनाउने काम त सुरु भएको छ । 
तराईसंग जोड समृद्धिका सम्भावना बढ्छ : पूर्व मन्त्री कंडेल
पत्रिकाको दशौ वार्षिक उत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशमा जारी भएको ‘नेपालको संविधान २०७२’ अनुसार देश संघीय संरचनामा अघी बढेको छ । सात वटा प्रदेशहरु छन् । प्रदेश नं. ६ जनताको वलिदानीले निर्माण भएको प्रदेश हो । यहाँ जनताको प्रत्यक्ष संलग्नता छ । कार्यान्वयनमा केही जटिलता छ । सीमाङकन मै अझै केही असन्तुष्टिह छन् । छलफल चलिनै रहेको छ । भुबनोटका आधारमा सीमाङकन भएको छैन । तराईलाई जोड्न सकेको भए यो प्रदेशको समृद्धिको सम्भावना बढ्ने थियो । बाँके र बर्दिया जिल्लालाई पनि यो प्रदेशमा जोड्दा सम्भावना बढ्ने थियो ।

अहिलेसम्मको विकासको अबस्थालाई हेर्दा त यो प्रदेश कम्जोर देखिन्छ । आज जे छ भोली त्यही हुन्छ भन्ने होइन । विकासका सुचकाङकहरु धेरै तल छन । तर आत्तिनु पर्ने अवस्था छैन । स्रोत साधन सम्पन्न प्रदेश हो यो । हिजो शासकहरुले विकास हुन दिएनन् । यहाँ जैविक स्रोतसाधान छन्, खनिज र पर्यटनको सम्भावना उतिकै छन । यसका लागि राजनीतिक दलहरु विकासका मुद्दामा एक हुनु जरुरी छ । किवास एउटैले गरेर हुँदैन । विवादले समृद्ध हुँदैन । प्रकृतिले दिएको छ त्यसैलाई प्रयोग गरेर हामीले यो प्रदेशलाई समृद्ध बनाउन सक्छौं । 


सुनको डल्लो हो प्रदेश नं.६ : एमाओवादी नेता शर्मा 
छैटौ प्रदेश सम्मृद्धिको सम्भावना भएको सुनको डल्लो हो । अब यसलाई राम्रो आकर्षक र सुन्दर बनाउनका लागि राम्रो कालीगढको आवश्यक्ता छ । यसलाई सम्मृद्ध बनाउनका लागि हाम्रो पार्टीको बैठक बसेर समृद्ध योजना नै सार्वजनिक गरिसकेका छौं । योजनाहरु बनाएका छौं । हाईड्रोपावर पहिलो सम्भावना हो । पर्यटन,जडिबुटिको सम्भावना छ । कृर्षिको सम्भावना पनि उत्तिकै सम्भावना छ । जनशक्ति विकास र शिक्षाका क्षेत्रमा पनि हामीले सबै स्रोतको सही परिचालन र ती स्रोतको स्वामित्व जनताको स्वामित्वमा ल्याउनु नै ठुलो कुरा हो । ती सबै स्रोेतहरुलाई जनताको हो भन्ने अनुभूभि गर्न सकिन्छ, त्यो गराउनु पर्छ । प्रत्येक जिल्लालाई जिल्ला विशेष उत्पादन या आर्थिक परिचालन गर्ने योजना बनाएर लाग्नुपर्दछ । साथै हाम्रो पार्टीका तर्फबाट पत्रिकाको वार्षिक उत्सबको सफलताको शुभकामना पनि छ । 


No comments:

Post a Comment